काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले बताएका छन् ।
एसएसपी थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर उनीहरुको आफन्तसँग अत्यावश्यक परेको भन्दै १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । ‘अफ्ठ्यारोमा रहेको बताउँदै साथीको खाता भनेर आफ्नो बैंक खाता नम्बरमा उनले रकम पठाउन लगाउने गरेका रहेछन्’, थापाले भने, ‘पछिल्लो पटक यसै गरी ठगिएको ५० हजार रुपैयाँ निकाल्दा निकाल्दै उनलाई सुनसरीमा पक्राउ गरेका छौं ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
हालसम्म आलमले सबैबाट गरेर कुल ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको महाशाखाका एसपी होविन्द्र बोगटीले बताएका छन् भने उनको बैंक खातामा भने निकै ठूलो परिमाणको कारोबार भएको पाइएको छ । त्यसैले यस घटनाको विषयमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको बताइएको छ ।