१ करोड बढीमा जमैकामा अनुबन्ध भए सन्दीप

काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् ।सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् ।यो सन्दीपले विदेशी लिगमा छनोट हुँदा पाउने दोस्रो धेरै रकम हो । यस अघि इंग्ल्याण्डको दी हन्ड्रेड क्रिकेटका लागि सन्दीप झण्डै ढ करोडमा छनोट भएका थिए । कोभिड-१९ का कारण उक्त प्रतियोगिता एक वर्षपछि सरेको छ ।आगामी अगष्ट सेप्टेम्बरमा हुने सीपीएल २०२० मा खेल्ने सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु छन्, जसमा रेसलसंगै कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली, फिडेल एडवार्ड्स लगायत छन् ।
सन्दीपले यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्टबाट सीपीएल खेलिसकेका छन् । उनको यो तेस्रो टोली हो ।सीपीएलमा जमैकासंगै बार्बाडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाहज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
। क्यारेबियन प्रिमियर लिग (सीपीएल) को यस सिजनका लागि बुधबार खेलाडीको ड्राफ्ट हुँदैछ । सहभागी टिमले आफ्नो टिममा बाँकी रहेको स्थानका लागि यही ड्राफ्टबाट खेलाडी छनोट गर्नेछन् ।उक्त ड्राफ्टका लागि नेपालबाट एक मात्र खेलाडी सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । उनको ड्राफ्ट मूल्य ९० हजार अमेरिकी डलर रहेको छ । जुन नेपाली रकम एक करोड भन्दा बढी हुन्छ । यदि सन्दीपलाई ड्राफ्टमा कुनै टिमले लिएमा उनी एउटै लिगबाट करोडपति हुनेछन् ।सन्दीपले यसअघि दुई सिजन सीपीएल खेलिसकेका छन् । उनले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिस तथा गत सिजन बार्बाडोस ट्रिडेन्टबाट खेलेका थिए ।सीपीएल २०२० को ड्राफ्टका लागि विश्वभरका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन् । जहाँ सन्दीपको ड्राफ्ट मूल्य चौथो महंगोको लिस्टमा छन् ।
सन्दीपसमान ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डु प्लेसिस, दक्षिण अफ्रिकाकै डेभिड मिलर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डि’आर्चे सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन् ।पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले सर्वाधिक मूल्य राखेका छन् । यी भेट्रान अलराउण्डरले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् । यस्तै इंग्ल्यान्डका कप्तान आयन मोर्गानले १ लाख ३० हजार अनि इंग्लयाण्डकै युवा ब्याट्सम्यान टम बन्टन, न्यूजिल्याण्डका फास्ट बलर टिम साउथी र अष्ट्रेलियन अलराउण्डर बेन कटिङले १ लाख १० हजार अमेरिकी डलर मूल्य राखेका छन्।युनिभर्सल बोसको रुपमा चर्चित वेष्टइन्डिजकै स्टार करिस गेलले भने परिवारसंग समय बिताउन नपाएको भन्दै सीपीएल नखेल्ने निर्णय गरेका छन् र नाम फिर्ता लिएका छन् ।
यसैगरी वेष्ट इन्डिज टी-२० टिमका पूर्व कप्तान कार्लोस ब्रेथवेइटले ७० हजार अमेरिकी डलर मूल्य राखेका छन् । उनले गत सिजन प्याट्रिओट्सको कप्तानी गरेका थिए । यस्तै इंग्लिस ब्याट्सम्यान एलेक्स हाल्स, दक्षिण अफ्रिकी फास्ट बलर कगिसो रबाडा, पाकिस्तानका लेफ्ट आर्म फास्ट बलर शाहीन शाह अफ्रिदीले ६० हजार डलर मूल्य निर्धारण गरेका छन् ।खेलाडीको ड्राफ्ट अघि सहभागी टिमले अघिल्लो सिजन खेलेका केही खेलाडी रिटेन गरेका छन् । यस्तै यस पटक भने फ्रेन्चाइजले ड्राफ्ट अघि नै ओभरसिज कोटा अन्तर्गत केही विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् ।जसमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले अष्ट्रेलियन क्रिस लिन, बार्बाडोस ट्रिडेन्टले अफगानिस्तानका रसिद खान, गुएना अमेजन वारियर्सले अफगानिस्तानकै क्वाइस अहेमद, सेन्ट लुसिया जोक्सले दक्षिण अफ्रिकाका राइले रुसो, ट्रिनबागो नाइट राइडर्सले न्यूजिल्याण्डका टिम सेरिफ, जमेका तल्लवाहजले दक्षिण अफ्रिकाका ताबरेज शाम्सी, जोक्सले दक्षिण अफ्रिकाकै एनरिच नोर्तेज र प्याट्रिट्सले अर्का अफ्रिकी खेलाडी रसी भान डेर डुसेनलाई अनुबन्ध गरेको क्रिकइन्फोले जनाएको छ ।
यस पटक सीपीएले ६ वटा फ्रेन्चाइजलाई ड्राफ्ट बाहिरबाट विदेशी खेलाडी अनुबन्ध गर्न छुट दिएपछि यो सम्भव भएको हो ।सीपीएलले अगष्ट १ सम्म सबै फ्रेन्चाइजलाई आफ्ना खेलाडी र स्टाफहरुलाई जम्मा पार्न भनिसकेको छ । प्रतियोगिता सुरु हुनु अघि खेलाडीहरुलाई दुई साता क्वारेन्टिनमा राखिने छ ।कोरोना भाइरस महामारीले गर्दा यस पटक सीपीएल ट्रिनिदाद एण्ड टोबागोमा मात्र गर्ने आयोजकको तयारी छ । यसका लागि त्यहाँको सरकारले अनुमति दिन भने बाँकीछ ।