आ*त्मघा*ती गोलले टोटनहम विजयी

२३ असार, काठमाडौं ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहमले एभरटनलाई १-० ले पराजित गरेको छ । एभरटनका खेलाडीको आत्मघाती गोलको सहयोगमा टोटनहमले ३ अंक जोडेको हो ।खेलको २४औं मिनेटमा एभरटनका माइकल केनले आत्मघाती गोल गर्दा टोटनहमले अग्रता बनायो । त्यही गोल नै टोटनहमको जितमा निर्णायक बनेको हो .जितपछि ३३ खेलबाट ४८ अंक जोड्दै टोटनहम आठौं स्थानमा उक्लेको छ । शेफिल्ड युनाइटेडको पनि समान ४८ अंक भए पनि गोलअन्तरमा पछि छ ।

टोटनहमको जितपछि प्रशिक्षक जोसे माउरिन्होले पनि प्रिमियर लिगमा २ सयौँ जित हात पारेका छन् । र यस्तो उपलब्धी प्राप्त गर्ने उनी पाँचौ प्रशिक्षक हुन् ।खेलको मध्यान्तरमा टोटनहमका गोलकिपर तथा कप्तान ह्युरगो लोरिस र फरवार्ड हेउन मिन सनबीच भनाभन भएको थियो । प्रशिक्षक माउरिन्होले यसलाई फुटबलको सुन्दर पाटो तथा टिमको उत्थानका लागि गरिएको प्रयासका रुपमा टिप्पणी गरेका छन् ।मध्यान्तरको समयमा चेन्जिङ रुममा फर्कँदै गर्दा कप्तान लोरिस दौडिएर आएर सनलाई पछाडिबाट धक्का दिएका थिए । उनीहरूबीच त्यहीँ केहीबेर भनाभन भएको थियो । उनीहरुलाई अरु खेलाडीले छुटयाएका थिए ।खेलपछि पनि उनीहरुको तनाव मत्थर भएको थिएन । तर लोरिसले खेल सकिएपछि आफूहरुबीच कुनै समस्या नरहेको प्रतिक्रिया दिएका छन् ।

सेनाको जागिरले भलिबलमा मौका, मौकामा सुनिताको चौका

नेपाली महिला भलिबल टिमले जितेको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधिको एक हिस्सेदार हुन्, सुनिता । यसैगरी घरेलु कोर्टमा भएको १३औं सागमा रजत जित्ने नेपाली भलिबल टिमकी पनि सदस्य थिइन्, उनी । भलिबल खेल्न थालेको छोटो समयमै उनले यी दुई महत्वपूर्ण उपलब्धि हासिल गरेकी हुन् ।

स्कुल पढ्दा सुनिताले भलिबल खेल्न त के छुनसमेत पाएकी थिइनन् । उनलाई त भलिबल कसरी खेल्ने भन्नेसमेत थाहा थिएन । स्कुलमा केटाहरूले भलिबल खेलेको हेर्दा उनलाई खेलुँखेलुँचाहिँ हुन्थ्यो । तर कसले खेलाउने । बरु उनी कपर्दी खुब खेल्थिन् ।

स्कुल पढ्दाखेरि नै घर–परिवारले उनको विवाहको कुरा गर्न थालिसकेका थिए । छोरीले धेरै पढेर के काम भन्ने कुराहरू सुनिताले बारम्बार सुन्नुपथ्र्यो । यसले उनलाई बेचैनी हुन्थ्यो । अन्ततः उनले साहसिक निर्णय लिइन् ।

उनको दिदी–भिनाजु उदयपुरमा बस्थे । सिराहमा नेपाल आर्मीको जागिर खुलेको भिनाजुबाट थाहा पाइन् ।

‘ठूलो भिनाजु आर्मीमा भएकोले जागिर खुलेको बेला बोलाउनुभयो । म पनि कसैलाई नसोधी गएँ,’ उनले भनिन् ।

सुनिताले आवेदन दिइन् । पास भइन् । सेनामा भर्ती हुने उनको सानैको रहर पूरा भयो । २०७२ सालमा उनी त्रिशूलीमा ट्रेनिङमा गइन् । तर एकैपटक घर छाडेर ट्रेनिङमा गएकी उनलाई सुरु सुरुमा गाह्रो भयो । एक त घर–परिवारबाट टाढा हुनुपर्दाको नियास्रो, अर्को आर्मीको कडा ट्रेनिङ । सुरुमा त उनी आत्तिइन् ।

‘घर छोडेर कहिल्यै ननिस्केको मान्छे, मलाई घरको अति याद आयो । ट्रेनिङ कटाउनै सक्दिन कि भन्ने लाग्यो,’ उनले सुनाइन् ।

त्यही बेला उनलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । काठमाडौंबाट दीप खड्कालगायतको टोली भलिबल खेलाडी खोज्न गएको थियो । सुनिताको हाइट राम्रो थियो । त्यसैले उनी छनोटमा परिन् ।

सुनिताको नाम पनि काठमाडौं जाने लिस्टमा पर्‍यो । आफू छनोटमा परेको थाहा पाएपछि काठमाडौं जान पाउने कुराले उनी मख्ख परिन् ।

काठमाडौंको लगनखेलमा आएर उनको भलिबल ट्रेनिङ सुरु भयो । त्यतिबेला आर्मीको कोच कपिल किशोर श्रेष्ठ थिए । श्रेष्ठले केही समयपछि छाडे । सुनिताले त्यसपछि लोकेश बुढा, जगदीश भट्टजस्ता कोचसँग ट्रेनिङ गर्ने अवसर पाइन् ।

कोचमात्र होइन त्यतिबेला खेलकुद विभागमा रहेका राम कार्कीको सहयोग पनि सुनिताले पाइन् ।

‘नेपाल आर्मीको गुन छ मलाई । आर्मीले सपोर्ट नगरेको भए यो स्थानमा हुन्थिनँ जस्तो लाग्छ । उहाँहरूले प्रेरणा दिएर नै यहाँसम्म आएको हुँ,’ उनले भनिन् ।

यसरी बढ्यो भलिबल मोह

सुनिताले आर्मीमा भलिबल ट्रेनिङ गर्न थालिसकेकी थिइन् । तर खेल्न बाँकी नै थियो । एकपटक जावलाखेलमा शेरबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुँदा उनी पनि हेर्न गइन् ।

त्यहाँ सरस्वती चौधरी, प्रतिभा मालीलगायत राष्ट्रिय टिमका खेलाडीहरूको खेल उनले देखिन् । अरूको खेल हेर्दा पनि सुनिता दङ्गै परिन् ।

‘प्रतिभा, सरस्वतीले खेलेको देख्दा मैले पनि कहिले यसरी हान्ने होला भनेर सोचेको थिएँ,’ सुनिताले भनिन् । आर्मीकै कभर्डहलमा पनि अरू सिनियर खेलाडीहरू ट्रेनिङ गरेको देख्दा उनलाई त्यस्तै लाग्थ्यो ।

त्यतिबेला आर्मीको टिममा मनीषा खाँड, गीता डाँगीलगायत खेलाडी थिए । न्यु डायमण्डका चर्चित खेलाडी रमिला तन्डुकार पनि आर्मीमा करारमा गएकी थिइन् । तर सुनिताले रमिलाको खेल हेर्न पाइनन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेकी निमा श्रेष्ठ पनि त्यो बेला आर्मीमा गएकी थिइन् ।

विभागीयमध्ये आर्मीको टिम नयाँ भएकोले नाम चलेका खेलाडीहरू थिएनन् । यस्तोमा सुनिताको लागि पनि अवसर थियो । राम्रो ट्रेनिङ गर्न सके टिममा पर्न गाह्रो थिएन ।

‘मलाई राम्रो खेल्न आउँथेन तर ट्रेनिङ रेगुलर हुन्थ्यो । मैले ट्रेनिङ गरेको २/३ महिनापछि खेलेँ । कहिलेभित्र कहिले बाहिर हुन्थेँ,’ उनले भनिन् ।

उनले ढोरपाटन महिला डबल लिगबाट खेल्न सुरु गरेकी हुन् । पहिलो टुर्नामेन्ट राम्रो खेल्न नसके पनि उनको स्मृतिमा ताजै छ । पहिलो खेलमा न्यु डायमण्डसँग फराकिलो अन्तरले पराजित भएको उनले सुनाइन् । उनका लागि त्यहाँ भलिबल खेल्नु नयाँ अनुभव समेत थियो ।

‘खेल्न आउँथेन । मैले खेलेको देखेर दर्शक हाँस्थे । आफैँ जोकर भइरा’थे । लास्ट दिन त म खेल्नै गइन,’ सुनिताले लाज मान्दै भनिन् ।

तर उनी हतोत्साही भइनन् । असफलताले उनलाई पाठ सिकायो । अब अझै कसरी राम्रो खेल्ने भन्नेतर्फ ध्यान लिन थालिन् ।

‘सुरुमा त कस्तो–कस्तो लागेको थियो । तर खेल्दिनँ भन्ने कहिल्यै भएन । म मेहनत गर्छु राम्रो गर्छु भन्ने नै थियो,’ सुनिता भन्छिन् ।

त्यसपछि उनले खेललाई बुझ्न थालिन् । राष्ट्रिय खेलाडीबारे थाहा पाइन् । उत्साह र आत्मविश्वास चुलिँदै गयो ।

सुनिताले सुरुमा ओपन स्पाइकर भएर खेलिन् । उनको हाइट राम्रो थियो र ब्लक पनि गर्न सक्थिन् । त्यतिबेला आर्मीको प्रशिक्षक कपिल श्रेष्ठ नै थिए । खेलाडीको प्रतिभा चिन्नलाई कपिल माहिर थिए । सुनितालाई पनि उनले ओपनबाट क्विक स्पाइकरमा परिणत गरिदिए ।

‘ट्रेनिङमा मैले एक–दुई वटा ब्लक गरेको देखेर क्विक बनाउने निर्णय लिनुभयो,’ सुनिताले सम्झिइन् । प्रशिक्षकले पोजिसन परिवर्तन गर्दा फाइदा भएको उनको अनुभव छ ।

‘म राष्ट्रिय खेलाडी हुनुको श्रेय कपिल गुरुलाई नै दिन्छु । उहाँले पोजिसन चेन्ज गरेपछि मेरो खेलमा निकै सुधार भयो,’ उनले भनिन् ।

क्विकरबाट खेल्दा उनले पहिलोपटक पोखरामा बेस्ट ब्लकरको अवार्ड पाएकी थिइन् । यस्तै, आठौं राष्ट्रिय खेलकुदपछि लगनखेलमै भएको शेरबहादुर खड्का स्मृति भलिबलमा आर्मी दोस्रो हुँदा सुनिताले बेस्ट ब्लकरको अवार्ड पाएकी थिइन् ।

खेलाडीले जति अवसर पाउँछ, उति खेल्ने रहर पनि बढ्दै जान्छ । कुनै बेला भलिबल भन्ने खेल नै थाहा नपाएको सुनिताले भलिबलबाटै आफूलाई चिनाइन् । आर्मीबाट खेल्न थालेपछि उनको रहरहरू झन् बढ्न थाले ।

२०१७ मा नेपालको महिला राष्ट्रिय टिम माल्दिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएको थियो । सुनिता पनि आर्मीमा खेल्दै थिइन् । तर राष्ट्रिय टिममा आर्मीको कुन खेलाडी भन्ने थिएन । त्यसपछि नेपाल रातो र निलो टिमले भारतसँग कभर्डहलमा मैत्रीपूर्ण खेल खेलेको पनि हेर्न गएकी थिइन् । विस्तारै उनलाई पनि राष्ट्रिय टिमबाट खेल्ने चाहना बढ्दै गयो ।

अर्को वर्ष इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालको पुरुष टिमले खेलेको थियो, तर महिला टिम गएको थिएन ।

‘त्यतिबेला भने मलाई पनि खेल्न मन लागेको थियो । केटाहरूको गेम भयो । केटीहरूको गेम भइदिए म पनि गेम खेल्न पाउँथे कि जस्तो लागेको थियो ।’

महिला टिममा त्यतिबेला सरस्वती, प्रतिभा, रेश्मा, अरुणा, विनिता, कोपिलालगायत चर्चित खेलाडीहरू थिए । सुनितालाई पनि उनीहरूकै स्तरमा पुग्ने हुटहुटी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *