कंगनालाई ज्यानको खतरा, मोदी सरकारले दियो उच्च सुरक्षा

काठमाण्डौ । महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु तथा अभिनेत्री कंगनाबीच भइरहेको विवादका कारण कंगनामाथी हाल ज्यानको खतरा रहेको निष्कर्षमा पुग्दै भारतको केन्द्रीय गृहमन्त्रालयले उनलाई Y श्रेणीको सुरक्षा प्रदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनको सुरक्षामा अब ११ जना सुरक्षाकर्मी खटिनेछन् जसमध्ये १ वा २ कमाण्डो र २ पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) हुन्छन् भने अन्य प्रहरी हुनेछन्।
शिवसेनाका नेता संजय राउतसँग बढेको विवादका कारण नेता राउतले उनलाई मुम्बई नआउन समेत चेतावनी दिइसकेका छन्। यद्धपी चेतावनीबीच नै मुम्बई जाने निर्णय गर्दै उनले राउतलाइ नै चुनौती दिएकी छन्। कंगना यहि ९ सेप्टेम्बरमा मुम्बइ जाँदैछिन् भने शिवसेनाको प्रदर्शनपछि उनीमाथि हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले उनलाई सुरक्षा उपलब्ध गराएको छ।
उनले हाल बलिउड क्षेत्रको माफिया, नातावाद र लागूपदार्थको मुद्दामा खुलेआम बोल्दै बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबारे समेत आवाज उठाउँदै आईरहेकी छिन्।