उपन्यास : उसले जितेको हार {मार्मिक प्रेम उपन्यास} – शिशिर आचार्य [भाग १ ]- दोस्रो शृंखला

“एरपोर्ट, गौशाला चाबेल ए चाबेल ” हुइकिदै आइरहेको चक्रपथ परिक्रमाको ढोकाबाट आधा झुण्डिदै कराइरहेका सह चालकले मेरो उनको मुहार नियाल्न केन्द्रित ध्यान खल्बलाइदियो। “ओ माइ गड बल्ल आयो ” हतार हतार बसिरहेको ठाउँबाट उठेर उनि गाडी तिर दौडिन। म भने कुनै नशामा लट्ठ मानिस जस्तै एकोहोरिरहेको थिए। मानौकि उनको अनुहार कुनै नशाले भरिएको प्याला थियो र मैले आफ्नो आखाले घटघट त्यो प्याला पिएको थिए। “जाने हैन??” ढोकामै पुगेर चढ्न लाग्दा उनले मलाई बोलाइन। झस्किदै म आफु बसिरहेको ठाउ बाट गाडी चढ्न तर्फ लागे।
सिट जम्मा एउटा रहेछ। ” हजुर बस्नु न ” ,मलाई बस्ने इशारा गर्दै उनले भनिन। ” हैन हैन ,तिमि नै बस न ” मैले केहि पछि हटेजस्तो गरेर उनलाई सिटमा बसाए। पुरुष भएको नाताले अन्य महिला भएको भएता पनि मैले अबश्य नै महिला नै बस्न दिनु मेरो कर्तब्य बन्न जान्थ्यो। झट्ट सम्झिए ,यसमा त मेरो अर्को फाइदा पनि भएछ। यदि उनि उभिएर म बसेको भए उनलाई मैले हेर्न निकै गार्हो पर्थ्यो। अगि ट्रिपरको बत्तिको उज्यालोमा १० सेकेन्ड मात्र हेर्दा म लट्ठिएको त्यो अनुहार हेर्न म संग अब पुरै समय थियो। ठिक उनकै अगाडी पट्टि उभिएको थिए म, उनि मोबाइल चलाउनमा ब्यस्त थिइन्। मैले आफ्नो नजर उनको अनुहार तिर दौडाए र नियाल्न थाले।
पातला आखिभौलाइ मिलाएर थ्रेडिङ्ग गरेकी थिइन , परेला पनि केहि माथि फर्किएको थियो। ओहो कति सुन्दर आखा ,ठुला आखामा हल्का पोतिएको गाजल ,उनका ति दुइ आखा मज्जाले नियालेर हेर्दा लाग्थ्यो कि भगवानले कुनै कलाकारलाइ उनको आखा बनाउने जिम्मा नै सुम्पिएका थिए। बेलाबेलामा उनको कपाल, उनको आखामा डुब्न थालेको मलाइ बचाउन केहि साहारा दिदै आखै सम्म झरेर छोपिदिन्थ्यो। तर उनको हातको भने योजना आज मलाइ उनको आखा रुपी सगारमा डुबाएरै छाड्ने थियो सायद ,त्यहि भएर झरेकोको त्यो कपालको लठलाइ समेट्दै फेरी कान पछाडी राखिदिन्थ्यो। र म निर्धक्क भएर फेरी उनको आखामा डुब्न सुरु गर्थे। डुब्ने तरखरमा रहेको मलाई टाउकै सम्म डुबेको त् त्यति बेला अनुभब भयो जति बेला उनि माथि हेरेर मुस्कुराइन।
****************************************************************
जति मधुर उनको बोलि थियो ,त्यति नै मधुर थियो उनको मुस्कान। तल्लो ओठ माथिल्लो ओठ भन्दा केहि मोटो थियो भने ,बीच बाट दुइ तिर विभाजित भएको माथिल्लो ओठले फेरी अर्को कलाकारिता को भान गराउथ्यो। खुल्ला छोडेको उनको कपालले कुनै मन्दिर एक सुन्दर गजुरले सजिए जस्तै उनको त्यो मुहारलाइ अझ सुन्दर प्रतित गराउदै थियो। एक दुइ कलाकार हैन ,उनको त्यो मुहार सजाउन शाह जहाँ ले ताज महल बनाउदा जति नै कलाकार प्रयोग भएको हुनु पर्छ। उनलाई सम्पूर्ण रुपमा नियाल्दा मैले यस्तो सुन्दर चिज सायद नै काही देखेको थिए जस्तो महसुस भयो। मेरो २८ बर्षको आसपास उमेर पुग्दा पनि कोहिलाइ देख्दा मन्त्रमुग्द भएको यो पहिलो चोटि थियो। हो ,उनि संसारकै सबै भन्दा सुन्दर केटि थिइनन होला ,तर मेरो आखाले उ भन्दा सुन्दर अरु केहिलाइ ठानेको थिएन।
उनको सिट्कै कुनामा बसेको २५/२६ वर्षको जस्तो देखिने एक युबक उनकै त्यति नजिक भएर पनि आफ्नो मोबाइल चलाउनमा ब्यस्त थियो। मानौ न उसलाई सुन्दरताको कुनै ज्ञान थियो न त कदर नै। २८ बसन्त पार गरिसक्दा पनि आज सम्म कुनै केटि संग खास आकर्षित त म पनि भएको थिइन। सायद कुनै व्यक्तिलाइ अर्को व्यक्ति खास लाग्नु ,कोहि प्रति कोहि आर्कषित हुनु एउटा अनौठो ढाचा थियो। त्यहि भएरै त संसारको अस्तित्वो थियो। एकै व्यक्ति वा एउटै बस्तु प्रति संसारका सब मानिस आकर्षित हुने हो भने संसारको अन्त्य निश्चित थियो। मेरो उनि प्रतिको आकर्षणको यहि कारण थियो सायद। उनलाई सम्पूर्ण नियाल्दा नियाल्दै गाडी र यो संसार एकछिन त्यहि रोकिएको थियो मेरो लागि। यो संसारमा केवल सिटमा बसेकी उनि थिइन् र उभिएर उनलाई हेर्ने म। उनको छेवैमा बसेको युबक संग एक तरिकाको रिस र इर्श्याको समिश्रित भावाना थियो। त्यो युबक गाडी बाट उत्रिदिए हुन्थ्यो भन्ने नै त्यति बेलाको मेरो भगवान संगको मेरो एक मात्र प्राथना थियो। युबक उत्रिदा म त्यो सिटमा बस्ने थिए ,उनको नजिक , यो भन्दा अमुल्य क्षण सायद नै मैले कल्पना गरेको थिए।
तर मेरो ठिक दुवै कल्पना को बिपरित , संसार र बस दुवै चलायमान थिए। युबक उत्रिनु भन्दा पहिले नै उनले आफ्नो मोबाइल चलाउन बन्द गरिन र झर्ने तरखर गर्न लागिन। यसो झ्यालबाट बाहिर निहाले ,उनको स्टप एयरपोर्टको बस बिसौनी आउनै आइसकेछ। झुरुक्क सिट बाट उठिन र ढोका तर्फ बढ्न लागिन ,अघि सम्म बस र संसार त्यहि रोकिएको लागेको थियो ,अहिले तेस्रो चिज रोकिएको पाए ,आफ्नो मुटु। म आत्तिए , शरीर लल्याक लुकुक भएर आयो ,साश फेर्न गाह्रो भयो। एऊटै मात्र सोच बारम्बार दिमागमा करेन्ट जसरि नै झड्का दिदै थियो , न त मलाइ उनको नाम थाहा थियो न नै उनको बारेमा केहि। यो उनको र मेरो पहिलो र अन्तिम भेट हुने थियो। संसारकै सबै भन्दा बहुमुल्य चिज गुमाउदै गरेको महसुस भयो। सहचालकको त्यो आबाज कुनै बन्दुक बाट निस्केको गोलि झैँ मेरो कानलाइ चिर्दै मेरो मुटुमा गएर लाग्यो ” एरपोर्ट झर्ने मान्छे आउनुस त “