डब्ल्यूएचओले नेपालको बढदो कोरोना संक्रमणको बारेमा यसो भन्यो..

काठमाडौं ।

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमणको सुरुवात मात्र रहेको बताएका हुन ।

आगामी महिनामा योभन्दा जटिल परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’

कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए । अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरेका छन ।

‘अहिले टोल/छिमेकमा संक्रमण देखिँदै जाँदा आत्तिनु पर्दैन, अन्य देशको जस्तो हाम्रोमा संक्रमण फैलिन्न’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. भान्देलारले भने, ‘समाजका सबै मानिस संक्रमित हुने होइनन् ।’

नेपालमा भेटिएका अधिकांश संक्रमितमा मन्द लक्षण देखिएको र यो घातक नहुने उनको भनाई छ ।

नेपाल भर्खर संघीयतामा गएको र यस्तो बेला केन्द्र सरकारले मात्र कोभिड नियन्त्रण गर्न नसक्ने उनले बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिएका डब्ल्यूएचओका प्रतिनिधि डा. भान्देलारले भने, ‘स्थानीय सरकारले कन्ट्याक ट्रेसिङको लागि केन्द्र सरकारलाई सहयोग गर्नुपर्छ । संक्रमितको सम्पर्कमा आएकाहरूलाई फलोअप गर्न पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ ।’

महामारीका बेला निजी स्वास्थ्य संस्थाले आफू पृथक क्षेत्र हो भनेर सोच्न नहुने र सरकारले पनि उनीहरूको लागतमा सहमति खोज्नुपर्ने बताए । उनले भने, ‘निजी अस्पताल, त्यहाँ रहेका बेड र स्वास्थ्यकर्मीहरू सरकारले अधिकतम प्रयोग गर्नुपर्छ, जसका कारण महामारीसँग लड्न सकिने होस ।’

विश्व स्वास्थ्य संगठनले पनि कोभिड महामारी नियन्त्रण गर्न सरकारलाई सहयोग गरिरहेको उनले बताए । उनकाअनुसार तीनै तहको सरकारलाई डब्ल्यूएचओले तथ्यांक संकलनदेखि लिएर लजिस्टिकमा सहयोग गरिरहेका छन ।

डब्ल्यूएचओका प्रतिनिधि डा. भान्देलारले स्वास्थ्य सेवाको पहुँच सर्वसुलभ र गुणस्तरीय हुनुपर्नेमा समेत जोड दिएका छन् । ‘नेपालले गुणस्तर अझै सुधार्नुपर्ने देखिन्छ’ उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशमा कति अस्पताल छन्, उपकरण र स्वास्थ्यकर्मीको अवस्था के कस्तो रहेछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

कोरोना महामारीपछि फेरि नयाँ जीवन सुरु गर्न नेपालको दृढ इच्छाशक्ति रहेको समेत उनले बताएका छन् । कोभिड भनेको स्वास्थ्य समस्या मात्रै नभएर आर्थिक र मानसिक समस्या समेत रहेको भन्दै डा. भान्देलारले भने ‘त्यसैले यो महामारीसँग राष्ट्र, नागरिक र समाज एकजुट भएर लड्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *