कर्णालीमा रात्री प्रवेश रोक : पिसिआर रिपोर्ट अनिवार्य

काठमाण्डौ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्री प्रवेशमा रोक लगाउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बिहीबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकले स्वदेश तथा विदेशबाट आएका सबैलाई राति प्रवेश गर्न नदिने तथा दिउँसो मात्र प्रवेश गर्न दिने भनेको छ । यद्धपी दिउसो प्रवेश गर्नका लागी पनि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट देखाउनु अनिवार्य हुने निर्णय भएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यसका साथै स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय पनि गरिएको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई भने सीमानाकाका क्वारेन्टिनमा राख्ने बताइएको छ र क्षमताभन्दा बढी मानिस भएमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई समेत प्रयोग गर्नका लागी वैकल्पिक व्यवस्था मिलाउन पनि सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्तै कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा पनि जाँच कडाइ गर्ने निर्णय गरिएको छ ।