युट्युबकारिता र पत्रकारिताबीच भेद: एक विश्लेषण [शिशिर आचार्य ]

 

यतिबेला युट्युबकारिता र पत्रकारिताबीच भेद छुट्याउनुपर्ने आवश्यकता टड्कारो बन्दै गएको छ । युट्युबकारितालाई स्पष्ट परिभाषित गर्नुपर्ने अवस्था आएको छ । ट्युबकारिता र पत्रकारिता एउटै हुन् त ??

युट्युबरले आफूलाई ‘मिडिया’ का रुपमा पेश गरिरहेका हुन्छन् । तर, मिडिया भनेको के हो ? के उनीहरु मिडियाको कानूनी र नैतिक बन्धनभित्र छन् ? न उनीहरु कतै दर्ता छन्, न उनीहरुको नियमन गर्ने राज्यसँग कुनै निकाय छ । या प्रेस संगठन र सूचना बिभागले युट्युबकारिताको बिषयमा कुनै आचारसंहिता र नियम जारि गरेको छ या कुनै पनि बुदामा युट्युबलाइ पत्रकारिताको मान्यता दिएको छ ?

आमजनताका लागि अहिले युट्युबर नै ठूला मिडिया बनेका छन् । मान्छेका घरायशी झगडाहरु राष्ट्रिय चर्चाका विषय बन्न थालेका छन् । युट्युबर बन्नलाई केही पनि चाहिँदैन । वास्तवमै केही चाहिँदैन । अहिले स्मार्टफोन सबैले बोकेका हुन्छन् । त्यही फोन तपाईंलाई युट्युबर बनाउन काफी छ । युट्युब च्यानल बनाउन त झन् एकछिन पनि लाग्दैन । आफ्नो जीमेलको युजर नेम र पासवर्ड हालेरै पनि युट्युबमा भिडियो पोष्ट गर्न सकिन्छ । यति मात्रले के समाचार सम्प्रेसण,प्रकाशन र समाजमा कसैप्रति प्रभाब पर्ने काम गर्न पाइन्छ।

त्यसो त मूलधारको मिडियाले युट्युबरलाई स्पेस दिएकै हुन् । कमला घिमिरेदेखि विजय शाहीसम्मका जनचासोका पात्रहरुलाई मूलधारका मिडियाहरुले समाचारका लायक नै नठान्ने प्रवृत्ति छ । सामाजिक मुद्दा र अपराधका घटनाहरुलाई लगातार र विस्तृत फलोअप नगर्ने कमजोरी छ ।

जस्तो कि रुकुम घटनालाई लिउँ । त्यति ठूलो र जघन्य अपराधको विषयलाई मूलधारका मिडियाले सुरुदेखि राम्रो फलोअप गरेनन् । बरु युट्युबरहरु घटनास्थलमा पुगे र घरघर छिर्दै अन्तरवार्ता लिए । तर, यस्ता घटनामा युट्युबरहरुको प्रस्तुति सन्तुलित, विश्वसनीय र जिम्मेवार हुँदैनन् । उत्तेजक टाइटल दिएर भ्युज बटुल्ने एक मात्र ध्येय उनीहरुको हुन्छ । यसले जनतालाई सुसुचित भन्दा दिग्भ्रमित पार्ने खतरा रहन्छ । कसैप्रति जवाफदेहि हुनु नपर्ने युट्युबर लाइ खुलेआम रुपमा मानिसको गोपनियता र मौन रहने अधिकारको उल्लङ्घन गर्ने अधिकार र इजाजत कसले दियो त ? यदि कुनै युट्युबरकै एउटा भिडियोले गर्दा मानिसको चरित्र हत्या , सामाजिक प्रतिष्ठामा आच आएर आत्महत्या जस्तो कार्य भयो भने यस प्रति को किम्मेवर हुने ?? युटुबरलाइ कारबाही र जबाफदेहि बनाउने निकाय कुन हो ??

राम्रा र जिम्मेवार ढंगले चलिरहेका युट्युबरहरु पनि छन् । तर, तिनीहरुको संख्या र प्रभाव नगण्य छ । युट्युबमा सरलखालका कन्टेन्ट बिकाउ हुँदैनन् । बिकाउ कन्टेन्टको पछि लाग्नेहरुले राम्रा युट्युबरहरुलाई पनि अप्ठेरोमा पारिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *