काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्। हिजो भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्। नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याए।काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा भए पनि एक भोट पनि ल्याएनन्।
सोमबार राति एन्फा अध्यक्षमा निर्वाचित भएपछि पंकज विक्रम नेम्वाङले पहिलो कार्यसमितिको बैठकबाटै खेलाडी र प्रशिक्षक बीच देखिएको विवाद मिलाउने बताएका छन्। जितपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पहिलो काम खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने रहेको पनि बताएका छन्। धेरैको नजर चाहिँ खेलाडी र प्रशिक्षक विवादमा नै रहेको छ। अब उनले पहिलो कार्यसमितिको बैठकबाट यो निर्णय गर्ने बताएका हुन्। उनले छानबिन समितिको प्रतिवेदन हेरेर त्यसअनुसार गर्ने पनि बताएका छन्।
उनले भने, ‘छानबिन समितिको प्रतिवेदन हेरेर, हामी छलफल गर्नेछौँ। र, हामी सबै पक्षसँग पनि छलफल गरेर अघि बढ्नेछौँ।’ त्यस्तै, उनले अब एन्फाको सम्बन्ध सुधारमा पनि अघि बढ्ने बताएका छन्। उनले भने, ‘तत्कालको लागि योजना चाहिँ, एन्फा र जिल्लाको सम्बन्ध, एन्फा र क्लबको सम्बन्ध राम्रो छैन। हामीले एएफसी र फिफासँगको सम्बन्धका पनि सुधार गर्दै जानु पर्छ। एउटा पालामा सँगै एकजुट गरेर अघि बढ्नु पर्छ।’
आफ्नो कार्यकालमा धेरै चुनौतीहरू रहेको उनले स्वीकार गरेका छन्। उनले भने, ‘यो साधारण सभामै अडिट रिपोर्ट पेस गर्न सकिएन। एन्फामा धेरै दायित्वहरू छन्। हामी त्यसलाई पुरा गर्दै अघि जानेछौँ। अहिलेको मुख्य कुरा भनेको फिफा र एएफसीको सम्बन्ध हो। फिफाले आर्थिक प्रतिबन्ध लगाएको छ। त्यसलाई चाहिँ फिफासँग कुरा गरेर समाधान गर्नेतर्फ जान्छौँ।’