वैज्ञानिकहरुको नयाँ खोजी, भेटियो फलामको वर्षा हुने एक अदभुत ग्रह

एजेन्सी। खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा नयाँ ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। व्यास्प-७६बी (Wasp-76b) नामले चिनिने उक्त ग्रहले आफ्नो माउतारालाई एकदमै नजिकबाट परिक्रमा गर्दछ। दिउँसो यसको तापक्रम २,४०० डिग्री सेल्सीअस नाघ्छ जसले धातुहरू पनि पग्लिन्छन्। उक्त ग्रहको रात्रिकालीन तापक्रम १,००० डिग्रीले घट्छ। त्यसो हुँदा पग्लिएका धातुहरू सङ्घनित हुन्छन् र वर्षाका रूपमा तल खस्छन्।

जिनिभा विश्वविद्यालयका डा. डाभिड एहर्न्राइशका अनुसार त्यो विचित्रको स्थिति हो। ‘पानीका थोपाको वर्षाको साटो फलामका थोपा बर्सिएको अनुमान गर्नुहोस्,’ उनले भने। स्विट्जरल्यान्डका ती अनुसन्धानकर्ता र उनका सहकर्मीहरूले गरेको अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ। उक्त शोधमा अनुसन्धानकर्ताहरूले युरोपियन सदर्न अब्जर्भेटरीको चिलेस्थित भेरी लार्ज टेलिस्कोपमा भएको ‘एस्प्रेसो’ नामक नयाँ उपकरण प्रयोग गरी कसरी Wasp-76b को रासायनिक प्रकृतिको विस्तृत अध्ययन गरि त्यसको वर्णन गरेका छन्। हामीभन्दा ६४० वर्ष टाढा अवस्थित उक्त ग्रह आफ्नो माउताराको धेरै नजिकै छ। उक्त ग्रहलाई माउताराको परिक्रमा गर्न मात्र ४३ घण्टा लाग्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त ग्रहको अर्को विशेषता भनेको तारातिर सधैँ उही भागमात्र देखिनु हो। वैज्ञानिकहरूले त्यस्तो स्थितिलाई ‘टाईडल लकिङ’ अर्थात् ‘ज्वारबन्धन’ भन्छन्। पृथ्वीको उपग्रह चन्द्रमा पनि त्यस्तै स्थितिमा हुन्छ। त्यसैले हामी सधैँ चन्द्रमाको एकातिरको भाग मात्र देख्छौँ। यसको अर्थ के हो भने Wasp-76 को तारोन्मुख भाग दनदनी बलिरहेको छ। त्यो गोलार्ध ज्यादै तातो भएको कारण त्यहाँ बादल विघटित हुन्छ र वायुमण्डलमा सबै अणुहरू टुक्रिएर परमाणुको रूपमा छरिन्छन्। डा. एहरन्राइशको टोलीका अनुसार उक्त ग्रहको उज्यालो र अँध्यारो भागमा हुने तापक्रमको विशाल अन्तरले प्रचण्ड आँधी उत्पन्न हुन्छ। त्यस्तो आँधीको वेग १८,००० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ।

वैज्ञानिकहरूले एस्प्रेसो स्पेक्ट्रोमिटरको प्रयोगमा उक्त ग्रहमा साँझपख फलामको बाफ निस्किएको प्रमाण फेला पारेका हुन्। साँझपख फलामको वर्षात हुने भएपनी बिहानीपख फलामको कुनै पनि सङ्केत बाँकी देखिएन।

डा. एहरन्राइश भन्छन्, ‘हाम्रो अनुमान के छ भने ताराविमुख भागमा फलाम सङ्घनित भइरहेको छ। त्यो भागमा तापक्रम १,४०० डिग्री सेल्सीअस भए पनि फलामको बाफ सेलाएर बादल बन्न र सम्भवतः थोपाका रूपमा वर्षा हुन पर्याप्त छ।’ती थोपा वायुमण्डलका भित्री तहहरूसम्म खसेका हुन सक्छन् जुन हाम्रो उपकरणले पत्ता लगाउन सक्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *